शनिवारको कथा -१


शनिवार हप्ताको अन्तिम दिन, अनि बिदाको दिन। प्रत्येक शनिवारले छुट्टै ऊर्जा बोकेर आउँछ। हप्ताको छ दिन त दैनिक र नियमित काम गर्दै ठिक्क हुन्छ। एउटा शनिवार त हो फरक। शनिवारको दिन विशेष हुन्छ अनि सबैको शनिवार मनाउने तरिका आ-आफ्नै हुन्छ। सबैको आ-आफ्नै शनिवारको कथा हुन्छ। यो मेरो शनिवारको कथाको सिरिज हो ।

कथा जीवनको भोगाइलाई वर्णन गर्ने मिठो उपाय हो। कथाले सत्यता हैन वास्तविकता बोल्छ । सत्यता र वास्तविकतामा फरक छ । सत्य घटना समाचार बन्छ कथा बन्दैन तर जीवनलाई बुझ्न कथा चाहिन्छ र जीवनको वास्तविक गहिराइ बुझ्न कथाले मदत गर्दछ। 

सत्य घटना वा समाचार कोही एक व्यक्ति वा वर्ग लक्षित हुन्छ तर कथा सबैलाई एउटै हुन्छ । यो मेरो शनिवारको कथा हो । यो शनिवारको समाचार हैन। म जन्मिएको पनि शनिवार हो, त्यसैले पनि शनिवार विशेष लाग्छ। त्यसैले शनिवारको कथा लेख्दै छु। पहिलो कथा जन्मिएको शनिवारको बारेमा लेख्दै छु । जन्मिएकै दिन भएकोले केही याद छैन तर आमाले त्यस दिनको गरेको वर्णन र क्यालेन्डरले देखाएको त्यस दिनको महत्त्व छुट्टै छ। त्यसैले पहिलो कथा मेरो पहिलो शनिवारलाई समर्पित गर्न चाहेँ। 

पूर्णिमाको दिन, पूर्वमा सूर्यको लाली छरिएसँगै म पनि उदाएँ यस धर्तीमा । यसरी उदाएँ कि सबैको फुर्सदको दिन शनिवारको दिन उदाएँ । शनिवारको दिन ढिला सम्म सुत्ने योजना थियो होला बाबाआमाको, तर मैले त्यो योजना चकनाचुर बनाएर उदाएँ। चराको चिर्बिरी सँगै यस धरतीमा मेरो पहिलो चिर्विरीले मेरो उपस्थिति जनायो। मेरो पहिलो हाजिरी स्वरूपको त्यो चिर्विर कुनै मीठो सङ्गीत भन्दा कम थिएन रे। म रोएँ बाँकी सबै हासे। त्यही एक दिन आफू रोएर अरूलाई हँसाए। जिन्दगीको सार पनि त्यही हो सायद। खुसी बढ्नु सबैलाई हँसाउनु। दिन्भरी शनिवार भएकोले सबैको माया पाएँ, पहिलो दिन नै सबैको नजिक भएर माया पाएकीले होला अहिले सम्म पनि कम भएको छैन।

त्यो शनिवार अन्य सबै तिर सामान्य शनिवार थियो तर न्यौपाने निवासको लागि विशेष शनिवार। त्यो शनिवारको विशेषता अहिले सम्म पनि विशेष रहेको छ। जन्मदिन भएकोले होला अरू विशेष त थाह भएन। त्यसपछि अलिक ठुली भएपछि र सम्झिन सक्ने भएपछीका शनिवार भन्या बाल्यकाल स्कुले जीवनको शनिवार हो ।


बाल्यकालमा स्कुले जीवनको शनिवार पनि कम रमाइलो थिएन । बल्ल बल्ल पाएको एक दिन बिदा, नुहाउने लुगा धुने, अनि सफा भएर विभिन्न खेलहरू खेल्ने दिन । शनिवार पढाइको चिन्ता हदै न थियो । त्यस दिन कपि किताब छुने नपर्ने भएर होला पुरै हर्षले मन प्रफुल्लित हुन्थ्यो । नुहाएर सफा भएको कारणले गर्दा बाहिर धुलोमा खेल्न जान पाइँदैन थियो । अनि घर भित्र लडो, चेस, भिडियो गेम खेलेर बिताइन्थ्यो । बाल्यकालको शनिवार सम्झिँदा म टिभीमा जोडेर खेल्ने भिडियो गेम "मारियो" सम्झिन्छु । ब्ल्याक एन्ड ह्वाइट टिभीमा किबोर्ड र एउटा कालो बाकस जस्तो यन्त्र जोडेपछि गेमको क्यासेट राख्नुपर्थ्यो । अनि सुरु हुन्थ्यो मारियो गेम । त्यो उतार चढाएमा मारियो लाई जोगा उन्दै हिँड्न कम्ता मज्जा हुँदैन थियो । कहिले काहीँ लाग्थ्यो मारियो को संसारमा जान पाए । ती कछुवा र उल्लु जस्ता जीवहरूलाई उफ्रिँदै हिँड्नु पर्ने मारियो को यात्रा जस्तो हाम्रो जीवनको यात्रा भए मान्छेका हुलहरू बाटो बाटो उफ्रिँदै गरेको देखिन्थ्यो होला । अनि बाटोभरि राखेको सिक्काहरू बटुल्दै हिँड्न पाइन्थ्यो होला । तर मारियो को संसारमा पो मारियो एक्लै छ सिक्का उसैले बटुल्न पुग्छ तर हाम्रो जीवनमा त सिक्का सबैलाई कहाँ पुग्थ्यो होला र ? त्यसैले त खेलको संसार र वास्तविकता फरक हुने रहेछ । तर फरक भए पनि जीवनको धेरै गहन ता बुझ्न यसले मद्दत गर्दछ । मारियो ले जस्तै लक्ष पछ्याउंदै जाँदा सिक्काहरू बटुले जसरी पैसा पनि बिस्तारै आउँदै जान्छन्। आफ्नो लक्ष र बाटो छोडेर अन्त्य त्र गए आगोको खाल्डोमा परेर जीव ननै बर्बाद हुने रहेछ ठ्याक्कै मारियो को जस्तै। मारियो लाई त फेरी फेरी बचाउने खेलाडीहरू हुन्छन् तर हाम्रो जीवनलाई फेरी फेरी जीवन दिने बचाउने खेलाडी पक्कै पनि कम हुन्छन् । त्यसैले हरेक कदम सतर्क भएर चाल्नुपर्ने रहेछ । जीवनको नियम नै सायद यही हो । बाल्यकालमा शनिवारको हिरो मारियो थियो । आखिर जीवनको हिरो लाइ भेट्ने दिन पनि त शनिवार नै रहेछ नि । बिस्तारै मारियो आफ्नो बाटो लाग्यो ।

नेपाल टेलिभिजनमा शनिवार आउने हिन्दी फिल्मले पनि शनिवारको महत्त्वलाई झन् बढायो । हिन्दी भाषासँग नजिक बनाउने काम ती फिल्महरूले गरे। कतिपय शब्द बुझिँदैन थियो, कतिपय कथा बुझिदिन थियो तर प्रश्न सोध्न नडराउने म, सोधेरै फिल्म बुझ्ने कोसिस गर्थेँ । शनिवारले बोकेर आउने एउटा कथा बनिदिएको थियो । अनि बाँकी रहेको समय कथा सुन्ने र पढ्ने हुन्थ्यो । कथा भनेपछि एकदमै उत्सुकता जागेर आउँथ्यो । राजा रानीका कथाहरू चराचुरुङ्गीका कथाहरू राक्षस र देवताका कथाहरू आमाले सुनाउँदा दंग्ग पर्दै सुन्निन्थ्यो । कथामा चराहरू बोल्थे, जनावारहरु बोल्थे, सबै भन्दा विशेष त देवताहरू बोल्थेँ । मूर्ती र ढुङ्गामा सीमित हुने देवताहरू कथामा बोल्थे । ती सबैको आवाज कथाले बोल्थ्यो त्यसैले शनिवार र शनिवारले बोकेर ल्याउने कथा मिठो लाग्थ्यो । त्यसैले त कथाको अन्तिम वाक्य सधैँ रमाइलो लाग्थ्यो "सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला , यो कथा वैकुण्ठ गइजाला भन्ने बेलामा फुत्त जिब्रोमा आइजाला " 

जब यो वाक्यांश सुन्थेँ त्यसपछि एक छिन कथाकै संसारमा हराउन मन लाग्थ्यो। हो यस्तै थियो बाल्यकालको शनिवारको कथा । बिस्तारै समयले बाल्यकाल बिदा गर्दै गएपछि जीवनमा भोग्ने कथाहरू बिलकुल फरक हुँदै गए । मेरो दैनिक भोग्ने कथामा रुप्पी बोलेन, कछुवा कुदेन तर रुप्पीले कथामा दिएको शिक्षा र कछुवाले दिएको निरन्तरताको शिक्षाले सधैँ जीवनमा अगाडी बढ्न प्रेरित गरिरहे। धेरै कथाहरू देखियो, देखेरै कथाहरू भोगियो शनिवारले पनि धेरै कथाहरू बोकेर ल्यायो, ती शनिवारले बोकेर ल्याएका कथाहरू प्रत्येक शनिवार ल्याउनेछु भन्ने सोच पलायो । अन्य भागमा ल्याउने छु मैले भोगेका अनि समाजमा देखेका विभिन्न शनिवारका कुराहरू। सुरु भयो मेरो शनिवारको कथा शृङ्खला। 




Comments

Popular Posts